कविता -- मेरा कविता - BMR Times weekly
Headlines News :
Home » » कविता -- मेरा कविता

कविता -- मेरा कविता

Written By Unknown on Thursday, October 17, 2013 | 12:14 PM


समा श्री
हत्या पाप हो भने
निसंकोच
मैले निक्कै हत्या गरेको छु
आफ्नै डिम्बमा छुरा धसेको छु
नजन्मदै अवोधहरुका
घाँटी निमोठेको छु
अंगअंगहरु निर्ममतापूर्वक
उखेलेर फालेको छु
तिमीसम्म आउनु अगाडी
तिम्रा अगाडी उभ्याउनु अगाडी
स्वस्थताको जाँच गर्नुभन्दा
सामथ्र्यलाई हेरियो
सोचलाई गुनियो
मुटुलाई छामियो
यसबाट उठने सुगन्धलाई तौलियो
असरबाट निस्कने उच्छवासलाई सुनियो
त्यसैले
बाहिरी अङ्ग सुकोमल देखिए पनि
भित्र आगो बोकेर उभिए
तिम्रा अगाडी
मेरा कविताहरू
..
ती देखिँदा मूक थिए
तर भित्र आव्हान थियो
ती हेरिँदा दृष्यहिन थिए
तर भित्र चलचित्र थियो
ती सुनिदा बहिरा थिए
तर भित्र दुन्दुभि थियो
ती छाम्दा अचल थिए
तर भित्र ज्वारभाटा थियो
ती हेर्दा मुँढ थिए
तर भित्र गीता थियो
आमा हुँ
हजारौँ अधिग्रो जाँदा
मर्म त हुन्छ नै
छाती त चिरिन्छ नै
तर म रोइनँ
युग हाँक्ने
एक श्रृष्टिको चाहनामा
छाँटिछाँटि उभ्याए
तिम्रा अगाडी
मेरा कविता
..

मेरा कविता
शब्दका पहाड हुन्
फोडनै पर्छ
मेरा कविता
शब्दका पहाड पनि होइनन्
फलाँग्नै नसक्ने
मेरा कविता तरल छ पानीको जस्तै
त्यसैले जीवन छ
मेरा कविता तरल छ पारो जस्तै
त्यसैले विष छ
मेरा कविता सुकोमल छ फूल जस्तै
त्यसैले दोस्ताना छ
मेरा कविता सुकोमल छ फूल जस्तै
त्यसैले धार छ
तिम्रा निधारमा उम्रिएका
उदेकका लामालामा रेखाहरु
आँखामा छाएका
संकोचका बादलहरु
मस्तिष्कमा रुमल्लिएका
अनिश्चितताका कुहिरोहरु
मेरा कविता ग्रहणका
आधार होइनन्
श्रृष्टि
गुणदोष दुवै लिएर जन्मन्छ
पहिचान र निष्कर्ष
उपभोग या उपयोग
प्रापकको विवेक हो
आज मेरा कविता
परीक्षा दिँदै पनि छ
परीक्षा लिँदै पनि छ
त्यसैले
समयलाई निर्णायक बनाएर
उभिएका छन्
तिम्रा अगाडी
मेरा कविता
Share this article :

0 comments:

Speak up your mind

Tell us what you're thinking... !

Today's weather

Face Book Fan Page

 
Support : Creating Website | Johny Template | Mas Template
Proudly powered by Blogger
Copyright © 2011. BMR Times weekly - All Rights Reserved
Template Design by Creating Website Published by Mas Template